महिना असारको
असारको महिना,बर्षातको महिना! बाहिर सिमसिम पानी परिरहेको छ! भ्यागुताको ट्यार ट्याए आवाज सहितको झमझम पानी नदर्किएसम्म झरी परे जस्तो नै नलाग्ने! झरी,बन्द कोठा र साथमा एक कप मीठो चिया! आहा! कति आनन्दको मौसम,आनन्दको दिन पनि! जबजब बर्षात सुरु हुन्छ तब तब मनमा अनेकन कुराहरु सलबलाउन थाल्छन्! निकै घनिष्ठ सम्बन्ध छ क्यारे यो झरीसँग मेरो,त्यसैले झरी पर्दा कोठाको झ्याल नजिकै बसेर चियाको चुस्की लिदै निकै बेर टोलाउन मन लाग्छ,र बिगतका पलहरु सम्झन मन लाग्छ,जुन अब कहिल्यै फर्किएर आउने छैनन्! सायद यो झरिले मलाई मात्रै होइन, म जस्ता हजारौं मानिसहरुलाई त्यो बिगत फर्किएर हेर्न अनि सोच्न बाध्य बनाउछ होला! कति रमाइलो थियो है बिगत,अझै भनु त्यो बालापन! न कुनै लाज न त कुनै सर्म नै! जब त्यो निलो आकाशमा कहिले पुर्वतिर त कहिले पश्चिमतिरबाट कालो बादलहरु मडारिएर आउथे तब खुसिको कुनै सिमा नै हुदैनथ्यो! अहो! आज त पानी पर्ने भयो! पानीमा भिज्नुको पनि आफ्नै छुट्टै मज्जा थियो! बर्षात सुरु हुनभन्दा पहिले नै गाउभरीका आफ्ना साथीसंगिहरु बटुलेर एक ठाउँमा भेला भैसक्थेउ हामी !! अहिले जस्तो ठुला ठुला घरहरु कहाँ थिएर उबेला! जसको घरको आगानभरी चिप्लो माटो हुन्थ्यो,उसैको घर हाम्रो पहिलो रोजाइ हुन्थ्यो पानीमा भिज्दै चिप्लेटी खेल्न! अझै भनु त्यो घरको आगन नै हाम्रो चिप्लेटी खेल्ने ठाउँ बनेको थियो तबसम्म जबसम्म त्यो घरको मुलि मान्छेले 'ल हेर त आगन त सबै सत्यानास नै बनाएछन् नि बादरहरुले' भन्दै भाटा लिएर लखेट्न सुरु गर्दैन थे! हामी त्यो घरको आगनबाट कुलेलाम ठोकेर अर्को घरलाई टार्गेट गरिसक्थेउ जुन घरको बलेनी बाट तरररर गर्दै पानीको फोहोरा झरिरहेको हुन्थ्यो, हो त्यही बर्षातको पानी जुन घरको छतभरी टम्म्म भएर भरिएको हुन्थ्यो! त्यतीले मात्रै कहाँ पुग्थ्यो र हामीलाई! चाहे जोसुकैको घर होस् नाइके म आफै बन्थे र उसको छतमा चढ्थे! फोहोरले टालिएका छतका प्वालहरु एक मसिनो दाउराको सहायताले खोलेर तररररर पानीको फोहोरा नै आउने गरि झार्दिन्थे! यति गरि सक्दा घरबेटीलाई हाम्रो हरकत थाहा भइसकेको हुन्थ्यो! अब यहाँ बाट पनि नभागे ज्यानले दुख पाउछ है भन्ने हेक्का हुन साथ हामी फेरि त्यहा बाट कहाँ पुग्थेउ पुग्थेउ! कर्कलाको पात समाती छाता बनाएर त कति ओढियो ओढियो गनि साध्य अनि भनी साध्य नै छैन! न त त्यो झरिमा "पानी पर्यो दर्केर छाता छैन कुम्लो बोकेर" भन्दै गित गाउदै,चिच्याउदै नांगै बुङ्गै पुरै गाउँ भरिको चक्कर लगाएको नै बिर्सिन सकेकि छु न त 'यति यति पानी गंगै रानी' भन्दै उफ्रीएको नै! अब ती दिन कहाँ आउछन र फर्किएर? अब ती साथीहरू कहाँ भेटिन्छन् र खोजेर? सबै जना आआफ्नै संसारमा हराइसके र सबैले आआफ्नै अस्तित्व बनाइ सके! अब केही शेष बाकी छ त ती हुन यादहर,जुन एक अविस्मरणीय क्षण बनेर बसेका छन मेरो मानसपटलमा किन कि मलाई थाहा छ अब न त्यो पल फर्किएर आउने छ न त्यो बालापन नै !!
शोभा पौडेल
वाणगंगा नं.पा ५,कपिलवस्तु !!
Comments
Post a Comment